एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मंगलबार राति राष्ट्रिय टोलीबाट गोलको शतकीय आँकडा पार गरेका छन् ।

युइएफए नेसन्स लिग अन्तरगत मंगलबार राति स्वीडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै शतकीय आँकडा पार गरेका हुन् । राष्ट्रिय टोलीबाट शतकीय गोल पुरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीको लागि यो ऐतिहासिक लक्ष्य पुरा गर्न पाएको गर्व लागेको बताएका छन् ।

‘जब तपाईहरुले मैले १०० गोल पुरा गर्न सक्छौं भन्नुहुन्छ । म भन्छु कि यो पर्याप्त छैन । पोर्चुगलका लागि १०१ गोल,’ उनले भने । पोर्चुगलको समेत सर्वाधिक गोलकर्ता रहेको रोनाल्डो युरोपबाट शतकीय अन्तर्राष्ट्रिय गोल पार गर्ने पहिलो तथा विश्वकै दोस्रो पुरुष खेलाडी बनेका छन् ।

सन् २००३ देखि राष्ट्रिय टोलीमा रहेका ३५ वर्षे रोनाल्डोले हालसम्म १६५ क्याप जित्दै १०१ अन्तर्राष्ट्रिय गोल गोलको आँकडा पार गरेका हुन् । रोनाल्डोभन्दा अघि एसियन राष्ट्र इरानका अली दाई १०९ गोल रहेका छन् ।

५१ वर्षीय अली दाईले १९९३ देखि २००६ को बीचमा १४९ खेलमा १०९ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले २००६ मा कोस्टारिकाविरुद्ध ३–२ ले पराजित भएको मैत्रीपुर्ण खेलमा १ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्‍याएका थिए ।

अब रोनाल्डो अली दाईको कीर्तिमान भेट्नबाट ८ गोलले मात्रै पछि छन् । उनले १८ वर्षको अवधिमा २००३ बाहेक हरेक वर्षमा निरन्तर गोल गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here